spot_img

कर्णालीको एउटा समाज र परिवारको कथा ‘बुलाकी’

spot_img

नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिइन् ।

“कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन् । हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ”, उनले भनिन् , “यसले प्रथाको प्रभावलाई देखाएको छ । त्यो ठिक होइन भन्ने सन्देश समाजलाई दिन्छ । ” उनले निर्देशक लक्ष्मण सुनार स्थानीय भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताइन्

चलचित्रमा अभिनेत्री पन्तको श्रीमान्को भूमिका निर्वाह गरेकाका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताए । “यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ । हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ”, उहाँले भन्नुभयो, “चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग कनेक्ट गर्नुहुनेमा विश्वस्त छु ।”

अभिनेता रमेश बुढाथोकीले नयाँपुस्ताको काम र लगावको प्रशंसा गरे । उनले भने , “कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । आफ्नो पात्रलाई लिएर गर्ने तयारी अहिलेका कलाकारमा झनै राम्रो छ । सबैले आफ्नो पात्रलाई न्याय दिनुभएको छ ।” यसमा विराज विष्ट, लक्ष्मी गिरी, कूलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र अगामी वैशाख १ गते प्रदर्शनमा आउँदैछ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img