गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान् गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध टुङ्ग्याएकी छन् ।
दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए ।
बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको जेरीले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दैँ भनेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई, मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु परेको छ।’
उनले अघि लेखेकी छन्, ‘समयले तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्ने छु।’ उनीहरुको सम्बन्ध–विच्छेदको हल्ला यस अगाडि नै चलिसकेको थियो।
दुवै जनाले मिडियामा आएर वैचारिक मतभिन्नता आएका कारणले अलग भएको बताउँदै आएका थिए। करिब ५ वर्षको प्रेमलाई जेरी र शंकरले २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । उनीहरुको एक छोरी पनि छन्।
छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । दुवै जनाले जुनकिरी दोहोरी साझँ चलाउँदै आएका थिए।
जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो ।






