काठमाडौँ- नेपाल प्रेस युनियनले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
हालै हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शनिबार बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको आइतबार महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
उनका अनुसार पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई बैठकले आग्रह गरेको छ ।
पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनर्बहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको महासचिव पौडेलले जानकारी दिए ।







