काठमाडौं– मन्त्रिपरिषद्को निर्णयसँगै चलचित्र विकास बोर्डको अध्यक्षमा राजनैतिक नियुक्ति पाएका अभिनेता भुवन केसीले बुधबार कार्यभार सम्हालेका छन्। चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा पुगेर केसीले बुधबार कार्यभार सम्हालेका हुन्।
कार्यभार सम्हालेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केसीले फिल्म क्षेत्रका समस्याहरु समाधान गर्न काम गर्ने बताएका छन्। आफू कलाकारिताकै लागि जन्मिएको बताउँदै उनले फिल्म क्षेत्रको समस्यासँग आफू जानकार रहेको र ती समस्याहरु समाधान गर्नमा आफूले काम गर्ने बताएका छन्।
उनले भने, ‘धेरै समस्या छन्– कलाकारका मात्र नभइ प्राविधिक समस्या पनि छन्। मैले यस्ता समस्या बुझ्दै पनि आएको छु। ती समस्या समाधान गर्ने गरि काम गर्नेछु।’
सँगै केसीले आफूबारेमा सामाजिक सञ्जालमा भइरहेको विवादमा कुनै सत्यता नरहेको पनि बताएका छन्। उनले आफूले चलचित्रकर्मीहरुसँग सल्लाह सुझाव संकलन गर्ने र फिल्म क्षेत्रका समस्याहरु समाधान गर्नमा आफ्नो कार्यकाल केन्द्रित गर्ने बताएका छन्।
हालै बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
गत वैशाखमा केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए।






