काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकि छिन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउने बताइन् ।
उनले मुलुक र संविधानप्रतिको निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र भ्रष्टाचार न्यूनिकरण हुँदै जाने बताइन् ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताइन् ।
भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पतीको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेकोमा उनको जोड छ । उनले संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने राष्ट्रपति भण्डारीको भनाइछ ।
कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताइन् । उनले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वभाविक रुपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्व पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताइन् ।
उनले प्रशासनिक सेवालाई जनमुखी बनाउन समयअनुकूल सुधार गर्ने, सेवाप्रवाहलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने तथा सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रियामा उत्तरदायित्व स्थापित गर्ने कार्यबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले जननिर्वाचित तीन तहकै सरकार, राज्यका सबै अंग,निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हाँसिल हुनसक्ने बताइन् ।






