सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक लगानी भित्र्याउने देखि आन्तरिक सडक र कार्यालयीय सेवा प्रवाह सुधारको काम गरेको छ ।
स्थानिय निर्वाचन पश्चात पालिकामा आएका जनप्रतिनिधिको पहलमा पालिकाको आर्थिक विकास र समृद्धिका लागि विभिन्न काम भईरहेका हुन् । पालिकाले आफ्नो क्षेत्राधिकार भित्रको सडक सरसफाई तथा स्तरउन्नतीको काम गरेको छ ।
बर्खाको समयमा बिग्रिएको सोताङ गाउँपालिका देखि महाकुलुङ गाउँपालिकाको गुदेल चाचालुङसम्मको सडक स्तरोन्नती गरिएको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले बताउनुभयो । अध्यक्ष राईले गाउँपालिका क्षेत्रमा आफु निर्वाचित भएको ७ महिनाको अवधिमा धेरै उपलब्धिमुलक काम गरेको बताए ।
भारतिय राजदुतावासको सहयोगमा एम्बुलेन्स गाउँपालिकाले ल्याएर सञ्चालन गरिरहेको र यो निकै प्रभावकारी बनिरहेको अध्यक्ष राईको भनाई छ । स्वास्थ्य कै क्षेत्रमा पालिकामा निर्माण भईरहेको महाकुलुङ प्राथमिक अस्पतालको काम धमाधम भईरहेको छ ।
सो भवनको पालिका अध्यक्ष राईले निरन्तर आफैले अनुगमन गरिरहेको समेत बताए । पालिकाले चाडै सुविधायुक्त सेवा प्रवाह गर्ने गरि अस्पताल सञ्चालन हुने समेत बताए ।
छेस्काम र गुदेलमा रहेको नेपाल टेलिकमको टावरमा क्षमता बृद्धिका लागि प्रक्रियामा रहेको, कोलाम डाँडामा एनसिल र एनटिसिको टावर निर्माणको काम हुने बताए । अबको ६ देखि ७ महिनामा काम सम्पन्न हुने उनले बताए । गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा पनि विभिन्न काम गरिरहेको छ ।
जि फाउण्डेसन नेपालबाट ५ वर्षका लागि २५ करोड रुपैँया गाउँपालिकाका विभिन्न क्षेत्रमा लगानी गर्ने समेत सम्झौता भएको छ । गैरसरकारी संस्थाबाट नोग्ना थेन्चोक छोलिङ मेडिटेसन सेन्टर सञ्चालनका लागि ३ करोड ९२ लाख भन्दा बढि बजेट प्राप्त भएको छ ।
त्यसैगरि जिआईजेट नामक संस्था, गाउँपालिका र विद्युत प्राधिकरणबाट पनि ग्रामिण विद्युतिकरणका लागि पनि काम भईरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कृषि श्रोत केन्द्र सञ्चालन, विद्यालयको शौचालय, खानेपानीका लागि समेत ईको हिमालले सहयोग गर्ने भएको छ । गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ ।
गाउँपालिका क्षेत्रमा रहेको मेरापिक राष्ट्रिय निकुुञ्ज पनि घोषणाको अन्तिम चरणमा रहेको छ । पालिकाका २,३,४ र ५ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य भईरहेको छ ।
जिल्ला समन्वय समिति र पालिकाको लगानीमा अहिले धमाधम काम भईरहेको अध्यक्ष राईले बताए । भुवाखोलामा मोटरेबल पुल समेत निर्माण प्रक्रियामा रहेको छ ।






