दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । दाँत दुख्ने समस्याले गिजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।
नेपालीको निधनपछि बिहीबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै,हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक विदा दिएको हो।
बराहपोखरी गाउँपालिकाले गत कात्तिक ३ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार हरिबोधनी एकादशीका लागि दुई दिन सार्वजनिक विदा दिएको जनाएको छ।
बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन्। बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गरेको छ।
चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ।
हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन्। चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ।
बराहपोखरी र होङमा पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुंगा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ। बराहपोखरी पुगेर फर्किएका धामी तथा उनीहरुका आफन्तले समेत होङमा पोखरीमा पुजाआजा गर्ने गरेका छन्। होङमा पोखरी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्छ।
दुधकोसी किनारमा लाग्ने हरिबोधनी एकादशी मेलाका लागि रावाबेँसी गाउँपालिकाले पनि विदा दिएको छ। रावाबेँसी गाउँपालिक–३ लामीडाँडामा पर्ने रभुवामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मान्ने गरिन्छ।
त्यस्तै,लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका -७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।
एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघसंस्थाहरु प्रभावित बन्दै आएका थिए ।
पाउँदी स्थित मर्स्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु पाउँदी घाटमा नुहाउन आउने गर्दछन् ।






