spot_img

लहानमा गोली चल्दा एक जना गम्भिर घाइते,दुई पक्राउ

spot_img

सिराहाको लहानमा गोली चल्दा एक जना घाइते भएका छन्। 

आइतबार बिहान पौने ९ बजे लहान नगरपालिका-२२ बेलहिजातियाही स्थित रविन चौधरीको घरमा गोली चलेको हो। गोली एक जनाको पेटमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए। 

१८ वर्षीय दिलिप मुखियाको पेटको नाइटोभन्दा माथि गोली लागेको हो। घाइते दिलिपको उपचारको लागि धरान पठाएको छ। उनको अवस्था गम्भीर छ। प्रहरीले एक जना नाबालिगसहित दुई जनालाई पक्राउ समेत गरेको छ। 

प्रहरीले सोही ठाउँका १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। सुशान्त चौधरीले गोली चलाएका थिए।

प्रहरीले घटनास्थलबाट नाम नभएको एउटा पेस्तोल, पाँच थान ७.६५ एमएमको गोली बरामद गरेको छ। सोही घर नजिकैको बाँसघारीबाट एउटा कटुवा पेस्तोल, पाँच थान त्यसमा लाग्ने गोली र थप चार थान ७.६५ एमएमको गोली बरामद गरेको छ।

घटनास्थलबाट म्यागजिन र खोका पनि बरामद गरेको छ। घटना भएपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार पक्राउ परेका उनीहरू सबै साथीहरू हुन्। 

‘भर्खरैका केटाहरू हुन्। हामीले विस्तृत अनुसन्धान गर्न बाँकी नै छ। सोधपुछ गर्दा खेल्दै गर्दा गोली पड्किएको भनेर भनेका छन्,’ उनले भने,‘कहाँबाट ल्याएका थिए भन्ने खुलिसकेको छैन। बुझ्दैछौं।’

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

-फाइल फोटो

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img