spot_img

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या

spot_img

काठमाडौँ-जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको छ । पश्चिमी जापानको नारा शहरमा आयोजित राजनीतिक ¥यालीमा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको हो ।

आसन्न संसदीय निर्वाचनका लागि नारा शहरमा चुनावी अभियानमा रहेका उनलाई कसैले पछाडिबाट गोली हानेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

शुक्रबार स्थानीय समयअनुसार बिहान ११ बजेर ३० मिनेटको समयमा नारा शहरको रेल स्टेशन अघि भाषण दिने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार त्यसबेला दुई राउण्ड गोली प्रहारको आवाज सुनिएको थियो । पछि घटनास्थलबाट सुरक्षाकर्मीले खैरो रंगको टिसर्ट र सुरुवाल लगाएको एक जना मानिसलाई नियन्त्रणमा लिएका थिए ।

जापानी प्रसारण संस्था एनएचकेका अनुसार आबेमाथि गोली प्रहार गरेको आरोपमा एकजना ४१ वर्षे पुरुषलाई पक्राउ गरिएको छ । उनको नाम तेत्सुया यामागामी रहेको जापानी प्रहरीले जनाएको छ ।

प्रहरीलाई उनले आफू आबेप्रति असन्तुष्ट रहेको र मार्न चाहेको बयान दिएको जनाइएको छ । उनी नारा शहरकै बासिन्दा रहेको र उनले सन् २००५ सम्म जापानी सेनामा तीन वर्ष सेवा गरेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आबेमाथि घरमै निर्मित बन्दुकबाट गोली हानिएको थियो । गोली लाग्नेबित्तिकै उनलाई हृदयघात भएको थियो । पछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा आबेको निधन भएको घोषणा गरिएको हो । आबेले सन् २०२० मा राजीनामा दिनुअघि दुई पटक जापानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

जापानमा हिंसात्मक अपराध तथा राजनीतिक हिंसा निकै दुर्लभ मानिन्छ । सन् १९३० पछि जापानमा हत्या गरिएका उनी पहिलो वर्तमान वा पूर्व राजनेता रहेको रोयटर्सले जनाएको छ ।

यसअघि सन् २००७ मा नागासाकी शहरका मेयरलाई जापानका कुख्यात याकुजा ग्याङ्ले गोली हानी हत्या गरेका थिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img