दाङमा गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ।
घोराही उपमहागनरपालिका वडा नं. ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा त्यसमा परि घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो।
स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते ती बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए।
त्यस्तै दाङमा बाख्रा चराउन गएका एक एक किशोरको चट्याङ लागेर मृत्यु भएको छ। घोराही – १९ खानी गाउँको पोखरा डाँडामा बाख्रा चराउन गएका स्थानीय १५ वर्षीय शंकर बिकको मृत्यु भएको हो।
शुक्रबार दिउँसो तीन बजेतिर परेको चट्याङबाट बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बेलबासेले जानकारी दिए। त्यस्तै बंगलाचुली गाउँपालिमा बलेका चट्याङ लागेर थप तीन जना घाइते भएका छन्।
गाउँपालिकाको वडा नं. ५ मुर्कुटीमा २७ वर्षीया शकुन्तला वली र उनकी ११ वर्षीया छोरी वर्षा वली घाइते भएका छन्। उनीहरू घरमै बसेको समयमा चट्याङले हानेको थियो। बंगलाचुली – ३ दाङबाङका ३२ वर्षीय घनश्याम महरा पनि चट्याङ लागेर घाइते भएका छन्।
बेलुका पाँच बजेतिर परेको चट्याङ लागेर घाइते भएका सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बेलबासेले जानकारी दिए।
घाइते सबैको अवस्था सुधारोन्मुख रहेको पनि प्रहरीले जनाएको छ।






