थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत)परेको छ । सो समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (व्रत)र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन महिला बिहानै उठेर नुहाइ धुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।
उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया पर्व मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए । उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको जानकारी दिए ।
हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।
सार्वजनिक बिदा
जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।
मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।
थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।






