डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा ६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता भएका छन् । अहिले गाउँ पुरै शोकमा डुबेको छ । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका बेपत्ता २ जनाको खोजी भइरहेको सैनिक प्रवक्ता ९सहायक रथी० नारायण सिलवालले बताए ।
बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् ।
गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किएका छन् । घटनास्थलमा टेण्ट र खाद्य सामग्री लगिएको छ । थप राहत र उद्धारका लागि सुर्खेत र धनगढीमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।
त्यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्।
‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’ उनले लेखेका छन्।
त्यस्तै,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन्। ओलीले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन् ‘दुःखद् खबर हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ। उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’






