spot_img

मुर्रा भारतको, घाँस अमेरिकाको

spot_img

नुवाकोट ।

गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो। यो विषय नेपालको संघीय संसदमा समेत चर्चा पायो। हाँसोमजाकको विषय पनि बन्यो। तर देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको भ्रमणका अवसरमा उपलब्ध गराउने समझदारी भएको थियो।

एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार ५०० किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन्। मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन्। यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन्। व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो। केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो। 

औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति  र विविध प्रक्रिया पूरा गर्नुपर्छ। सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो। हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन्। ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ। पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ। सो फर्मले प्रतिभैँसी  दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो। अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ। यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ।

‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ’, फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो। यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ। यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन।’

कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन्। एक गिरी गाई पनि छ। फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ। गाईभैँसी थपेर दैनिक ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए। यहाँका गाईभैँसीका लागि पोसिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर खेतबारीमा लगाएको छ। हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ। फर्ममा हालसम्म करिब डेढ करोडको लगानी भइसकेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img