चर्चित कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले नेपाली फिल्म ‘बाटुलो जुन’ मार्फत डेब्यु गर्ने पक्का भएको छ। अनमोल केसीको मुख्य भूमिका रहेको यस फिल्ममा प्रिन्सीले उनकै जोडीको रूपमा अभिनय गर्नेछिन्।
सूत्रका अनुसार प्रिन्सी गत साता फिल्ममा अनुबन्धित भएकी हुन्। हाल अनमोल र प्रिन्सी अभिनय कार्यशालामा व्यस्त छन्। फिल्मको पहिलो चरणको छायांकन अर्को सातादेखि चित्लाङमा अंगुर खेतीका दृश्यबाट सुरु हुनेछ भने दोस्रो चरण मनसुनपछि खिचिनेछ।
भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्मलाई जिया केसीले निर्माण गर्दैछिन्। ग्रामीण परिवेशमा आधारित कथामा अनमोल पहिलोपटक गाउँले पात्रमा प्रस्तुत हुँदैछन्। यस फिल्मलाई अनमोलको करिअरको सबैभन्दा सस्तो बजेटको फिल्म पनि भनिएको छ।
प्रिन्सी यसअघि एक हिन्दी फिल्म ‘सपना’ मा अभिनय गरिसकेकी छन्, तर उक्त फिल्म हालसम्म रिलिज भएको छैन। सामाजिक सञ्जालबाट चर्चामा आएकी प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक तथा म्युजिक भिडियोहरूमा समेत सक्रिय छन्।