काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा बिहीबार उक्त निर्णय गरिएको हो।
रास्वपा सभापति रवि लामिछाने ले मन्त्री साहमाथि पदीय मर्यादा दुरुपयोग गरेको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोप छ।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले उक्त विषयमा अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीसमक्ष बुझाएको थियो। उक्त गतिविधिले पार्टीको छवि, सिद्धान्त र मर्यादामा गम्भीर असर पुगेको ठहर गर्दै सभापति लामिछानेले प्रतिवेदनसहित प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए।
प्रधानमन्त्री शाहले सोही सिफारिसका आधारमा मन्त्री साहलाई पदमुक्त गरेको जानकारी उनका प्रेस विज्ञ दीपा दाहाल ले दिएकी छन्।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी रहेको उल्लेख गर्दै, धारा ६९ अनुसार ‘राइट टु रिकल’ प्रयोग गरी मन्त्रीलाई जिम्मेवारीबाट फिर्ता बोलाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।
यसैबीच, उक्त प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई समेत सचेत गराइएको छ। सभापति लामिछानेको सिफारिसअनुसार प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइसकेका छन्।






