काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको निर्णायक चरणमा प्रवेश गरिसकेको बताए ।
उनले विद्युत् उत्पादनको पूर्ण लाभ लिन आधुनिक, भरपर्दो, सुरक्षित र पर्याप्त क्षमताको प्रसारण प्रणाली निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उत्पादन मात्रै बढाएर अपेक्षित आर्थिक प्रतिफल हासिल गर्न नसकिने भन्दै उत्पादन, प्रसारण र वितरण पूर्वाधारको एकीकृत विकासमा जोड दिए ।
‘विद्युत् उत्पादन बढ्दै जानु सकारात्मक उपलब्धि हो, तर उत्पादित विद्युत्लाई विश्वसनीय रूपमा प्रसारण गर्न र उत्पादनशील क्षेत्रमा खपत बढाउन सकिएन भने यसको पूर्ण आर्थिक लाभ लिन सकिँदैन,’ उनले भने ।
सरकारले विद्युत्लाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक रूपान्तरणको प्रमुख संवाहकका रूपमा विकास गर्ने नीति लिएको मन्त्री श्रेष्ठले बताए । उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात, सूचना प्रविधिलगायत उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा पूर्वाधारगत व्यवस्था गरिने उनले बताए ।
देशभित्र खपत हुन नसक्ने अतिरिक्त विद्युत् क्षेत्रीय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको उनले बताए । नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्न सके विद्युत् क्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ ।
उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक तथा निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।
भविष्यको विद्युत् उत्पादन र मागअनुसार प्रसारण प्रणालीलाई सक्षम बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले बताए । आधुनिक ग्रिड व्यवस्थापन प्रणालीमार्फत प्रसारण प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र दिगो बनाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले विद्युत् प्रसारण प्रणालीमा खुला पहुँच, पारदर्शी नियामकीय व्यवस्था तथा लागतमा आधारित प्रसारण सेवा प्रणाली विकास गर्दै प्रतिस्पर्धी र गतिशील विद्युत् बजार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट, स्थिर र लगानीमैत्री नीतिगत वातावरण आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आफ्नो संस्थागत क्षमता विस्तार गर्दै रणनीतिक महत्वका प्रसारण पूर्वाधार निर्माणमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिए ।






