spot_img

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन देशभर वर्षा र हिमपातको जोखिम, सतर्कता अपनाउन आग्रह

spot_img

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ। उक्त अवधिमा चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

चक्रवातको प्रभावले सडक तथा हवाई यातायातसहित जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई सुझाव दिइएको छ। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आवश्यकताअनुसार सवारी आवागमनसमेत बन्द गर्न सक्ने जनाइएको छ। यस्तो निर्णय गर्नुपरेमा सर्वसाधारणलाई अग्रिम जानकारी गराउने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

त्यस्तै, धानबाली काटिसकेका किसानलाई कार्तिक १२ गते बिहीबारअघि नै बाली भित्र्याइसक्न सुझाव दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई उक्त अवधिमा यात्रा नगर्न र पहिल्यै गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन भनिएको छ।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि सम्बन्धित निकायलाई सुझाव दिइएको छ।

सम्बन्धित सबै निकायले विभिन्न सञ्चारमाध्यमबाट जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्न आग्रह गरिएको छ।

मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि यी नम्बरमा सम्पर्क गर्न सकिनेछ :

  • मौसमसम्बन्धी जानकारी : ११५५
  • विपद्मा सहयोगका लागि : १२३४, १०० वा १११४

सम्भावित जोखिमबाट बच्न मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img