प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा पैसाको खोला बग्ने बताएका छन्।
शनिबार भक्तपुरको सानोठिमीमा आयोजित संघीय नमूना युवा संसद अभ्यास कार्यक्रममा बोल्दै उनले निर्वाचनमा पैसाको खोला बग्ने बताएका हुन्।
‘चुनावमा देखिने विकृति, विसंगतिहरू अब सबभन्दा डर लाग्दो कुरा त तपाईंहरूले पनि थाहा पाइराख्नु भएको छ। यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा।
त्यो भनि साध्य छैन,’ उनले भने, ‘असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ। तर अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौं भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन्।’
उनले यस्ता विकृति तथा विसंगतिको अन्त्य गर्न अभियान नै सञ्चालन गर्न युवाहरूलाई आग्रह गरे। उनले धेरै पैसा खर्च नगरिकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए।
‘काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरूले के देखाएको छ त भन्दा विद्यमान परिस्थितिबाट तपाईं, हामी र सबै जनताहरू सन्तुष्ट छैनन्। यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालिन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन्,’ उनले भने।






