spot_img

रास्वपाको महाधिवेशनलाई रवि लामिछानेको सन्देश : ‘अब म होइन, हामी बन्ने बेला आएको छ’

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन प्रक्रियालाई पार्टीको भविष्य निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरेका छन्। जिल्ला अधिवेशन सुरु भइरहेका बेला पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्कार, त्याग र समर्पणलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।

लामिछानेले रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै जेठ २३ र २४ गते जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनले अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। त्यसका लागि संवाद, सहमति र आवश्यकताअनुसार आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गर्नुपर्ने उनले बताएका छन्। यस्ता अभ्यासले पार्टीलाई थप बलियो र परिपक्व बनाउने उनको विश्वास छ।

लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिइएको भन्दै विचारसँगै व्यवहार, कार्यशैली र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिएका छन्। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत राजनीतिक शक्ति बन्न नसकिने उनको भनाइ छ।

उनले पार्टी स्थापनाको सुरुआती चरणमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक ठानेर पदको अपेक्षा राख्ने वा विगतको योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन्। चार वर्षको छोटो अवधिमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको उल्लेख गर्दै समयमै सुधार आवश्यक रहेको उनले बताएका छन्।

त्यस्तै, पार्टी जिम्मेवारीलाई भविष्यमा संसदीय अवसर प्राप्त गर्ने माध्यमका रूपमा हेर्दै नेतृत्वका लागि अत्यधिक प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि देखिन थालेको उनको भनाइ छ। उनले यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियामार्फत न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

लामिछानेले रास्वपा आजको अवस्थामा पुग्नु केही व्यक्तिको प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै मतदाताको विवेक, पार्टी सदस्यहरूको समर्पण तथा पुराना र नयाँ पुस्ताको संयुक्त योगदानको परिणाम भएको बताएका छन्।

उनले अब रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका छन्। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै संगठन विस्तारसँगै व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्याग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

“युगले दिएको अभिभारा पूरा गर्न, जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ,” उनले भनेका छन्, “अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ।”

सन्देशको अन्त्यमा सभापति लामिछानेले रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img