सरकारले अल्पसंख्यक जातिय समूहमा राखेको राई जाति भित्रका कुलुङलाई आदिवासी जनजाति समूहमा सूचिकृत गर्ने प्रक्रिया सुरु भएको छ ।
स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले शुक्रबार बसेको कार्यपालिका बैठकबाट आदिवासी जनजाति समूहमा कुलुङलाई सूचिकृत गरेको हो ।
यस पालिकामा करिव बाह्र हजार जनसङख्या मध्ये दश हजार भन्दा बढी कुलुङ समुदायको बसोबास रहेको छ । पालिका अध्यक्ष सुर्य बहादुर कुलुङका अनुसार बैठकले सर्वसम्मत रुपमा सुचिकृत गर्ने निर्णय पारित गरेको हो ।
यसअघि विभिन्न फोरममा कुलुङलाई अल्पसंख्यक समूहबाट हटाएर आदिवासी जनजातिमा सूचिकृत गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कुलुङ संघ सोलुखुम्बुका अध्यक्ष केडी कुलुङले पालिकामा पेश गरेको निवेदनको आधारमा सूचिकृतको प्रक्रिया अघि बढेको हो ।
नेपालको संविधानले स्थानिय सरकारलाई दिएको अधिकार प्रयोग गरि मापदण्ड पुरा गरेर आदिवासी जनजाति समूहमा सुचिकृत गरिएको पालिका अध्यक्षले बताएका छन् ।
पालिकाबाट सुरु भएको सूचिकृतको काम प्रदेश र केन्द्र सरकारको सूचिमा पनि संशोधनका लागि पालिकाले पहल गर्ने अध्यक्ष कुलुङले बताए ।






