काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालय शिक्षा ऐन, शिक्षक व्यवस्थापन र शिक्षा क्षेत्रका समसामयिक विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको अन्तरक्रियामा विद्यालय शिक्षा ऐनको कार्यान्वयन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधन व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका व्यावहारिक समस्या, विद्यालय शिक्षा ऐन कार्यान्वयनका चुनौती तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत सुझाव राखेका थिए।
मन्त्री पोखरेलले छलफलबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने भन्दै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन र सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गरिने बताए।
उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै समग्र शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि नीतिगत समाधान खोज्ने काम अघि बढाइएको बताए।
कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षाको दीर्घकालीन सुधारका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।






