काठमाडौँ- झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीले ज्यान गुमाएका छन् ।
कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
त्यस्तै,झापाको बिर्तामोड नगरापालिका–५ मा रेडिमेट सेन्टरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । राजु बंशलको मुक्ति चोकस्थिमा सञ्चालन गरेको ‘बंशल रेडिमेट सेन्टर’मा मंगलबार बिहान आगलागी हुँदा सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीका अनुसार करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले बिर्तामोड नगरपालिका, मेची नगरपालिका, कमल गाउँपालिका र भद्रपुर नगरपालिकाका ४ वटा दमकल र स्थानीयको सहयोगमा आगो निभाएको थियो । घटनाबारे इप्रका अनारमनीले अनुसन्धान गरिरहेको छ ।






